banner image

संरक्षित क्षेत्र भ्रमण गर्ने पर्यटक संख्याले कीर्तिमान कायम

Jan 28, 2024

संरक्षित क्षेत्र भ्रमण गर्ने पर्यटक संख्याले कीर्तिमान कायम

संरक्षित क्षेत्र भ्रमण गर्ने पर्यटक संख्याले कीर्तिमान कायम

१४ माघ, काठमाडौं । मुलुकका संरक्षित क्षेत्र भ्रमण गर्ने पर्यटक संख्याले कीर्तिमान कायम गरेको छ ।राष्ट्रिय निकुञ्ज तथा वन्यजन्यु संरक्षण विभागका अनुसार आर्थिक वर्ष २०७९/८० मा ९ लाख ३२ हजार ५ सय ३२ स्वदेशी तथा विदेशी पर्यटकले संरक्षित क्षेत्र भ्रमण गरेका छन् । यो हालसम्मकै सर्वाधिक हो ।यसअघि आर्थिक वर्ष २०७५/७६ मा ७ लाख ६ हजार १ सय ४८ पर्यटकले संरक्षित क्षेत्र भ्रमण गरेका थिए । कोभिड-१९ महामारीका कारण २०७७/७८ मा २ लाख ५४ हजारमा झरेको पर्यटक संख्या त्यसयता भने क्रमशः उकालो लागिरहेको छ । त्यस्तै २०७८/७९ मा ४ लाख ६७ हजार १ सय ५५ ले संरक्षित क्षेत्र भ्रमण गरेका थिए । गत वर्ष यो संख्या दोब्बर बढेको हो ।

नेपाल आउने विदेशी पर्यटकमध्ये ६० प्रतिशतले संरक्षित क्षेत्र भ्रमण गर्ने गर्छन् । पर्वतारोहण र पदयात्रा जाने सबैजसो पर्यटकले संरक्षित क्षेत्रको भ्रमण गर्नुपर्ने हुन्छ ।

यसबाहेक जंगल सफारी र काठमाडौं आसपास हाइकिङ–ट्रेकिङ क्षेत्रसमेत संरक्षित क्षेत्रभित्रै पर्छ । नेपालमा राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, शिकार आरक्ष र संरक्षण क्षेत्र संख्या २० छ । यसबाहेक दुई प्राणी उद्यान छ । यसमध्ये सगरमाथा र चितवन विश्व सम्पदा सूचीमा समेत सूचीकृत छन् ।

कुन आर्थिक वर्ष कतिले गरे संरक्षित क्षेत्र भ्रमण ?

  • २०७५/७६ : ७,०६,१४८
  • २०७६/७७ : ५,००,५३७
  • २०७७/७८ : २,५४,०७९
  • २०७८/७९ : ४,६७,१५५
  • २०७९/८० : ९,३२,५३२

धेरैले घुम्ने संरक्षित क्षेत्र शिवपुरी–नागार्जुन

एक वर्षमा सबैभन्दा धेरै पर्यटकले घुम्ने संरक्षित क्षेत्रमा शिवपुरी–नागार्जुन पहिलो स्थानमा परेको छ । यो क्षेत्रमा एक वर्षमा ३ लाख १ हजार २ सय ७८ पर्यटकले भ्रमण गरेका छन् ।

दोस्रो स्थानमा चितवन राष्ट्रिय निकुञ्ज छ । यस क्षेत्रमा २ लाख ९२ हजार ३ सय ९२ ले भ्रमण गरे । तेस्रोमा परेको अन्नपूर्ण संरक्षण क्षेत्रमा १ लाख ७२ हजार १ सय ८ पर्यटक पुगेका छन् र

सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा ५७ हजार ६ सय ९० जना भ्रमणमा पुगेको विभागले जनाएको छ ।

मासिक तथ्यांक हेर्दा संरक्षित क्षेत्रमा चैत–वैशाख र असोज–कात्तिकमा बढी स्वदेशी तथा विदेशी पर्यटक पुग्ने गरेका छन् । वैशाख २०८० मा १ लाख ३७ हजार ६ सय ६६ ले संरक्षित क्षेत्र घुमेका छन् ।

कात्तिक २०७९ मा १ लाख १३ हजार र चैत २०७९ मा १ लाख ९ हजार ४ सय ८४ पर्यटक संरक्षित क्षेत्र पुगेका थिए ।

कुन संरक्षित क्षेत्रमा कति पर्यटक ?

  • शिवपुरी–नागार्जुन : ३,०१,२७८
  • चितवन : २,९२,३९२
  • अन्नपूर्ण : १,७२,१०८
  • सगरमाथा : ५७,६९०
  • लाङटाङ : २७,५६१
  • बर्दिया : २३,५११
  • कोशीटप्पु : १२,०२९
  • रारा : १०,८९९
  • ढोरपाटन : ७,०४५
  • मनास्लु : ६,८५१
  • कृष्णसार : ५,५६९
  • से–फोक्सुन्डो : ३,७८२
  • शुक्लाफाँटा : ३,५२८
  • खप्तड : २,८९१
  • गौरीशंकर : १,८९३
  • मकालु वरुण : १,६१०
  • पर्सा : ८९०
  • कञ्चनङ्घा : ७१३
  • बाँके : २७१
  • अपिनाम्पा : १८

राजस्व धेरै उठाउने क्षेत्र चितवन, दोस्रो सगरमाथा

संरक्षित क्षेत्रमध्ये सबैभन्दा धेरै राजस्व उठाउने संरक्षित क्षेत्र भने चितवन राष्ट्रिय निकुञ्ज हो । दोस्रोमा सगरमाथा छ । एक वर्षमा संरक्षित क्षेत्रबाट ७५ करोड ७७ लाख रुपैयाँ राजस्व उठेको छ ।

त्यसमध्ये चितवनबाट मात्र २८ करोड १३ लाख र सगरमाथाबाट १४ करोड ८१ लाखबराबर राजस्व उठेको छ । शिवपुरी–नागार्जुनले ५ करोड ४३ लाख र लाङटाङले ४ करोड २४ लाख राजस्व उठाएका छन् । बर्दियाबाट ४ करोड ५५ लाख तथा पर्साबाट ३ करोड ६२ लाख राजस्व संकलन भएको छ ।

देशभरिका संरक्षित क्षेत्रले ओगट्ने भेगमा होमस्टे सञ्चालनका लागि अहिलेसम्म १ सय ७० घरधुरीले अनुमति लिएका छन् । जसमा एकसाथ ३ हजार ७ सय ६३ पर्यटकले सेवा लिन सक्छन् ।

एक वर्षमा ९७ चलचित्र–वृत्तचित्र छायाङ्‍कन अनुमति

संरक्षित क्षेत्रमा एक वर्ष अवधिमा ९७ चलचित्र तथा वृत्तचित्र सुटिङ (छायाङ्‍कन) गर्न सरकारले अनुमति दिएको छ ।

विभागका अनुसार यसमा नेपाली र विदेशी दुवै छन् । यसरी सुटिङ अनुमति लिनेमा सगरमाथा राष्ट्रिय निकुञ्जमा धेरै अनुमति जारी भएको छ । संरक्षित क्षेत्रभित्र विभिन्न प्रकारका अध्ययन/अनुसन्धानका लागि २ सय ८४ जनालाई अनुमति दिइएको थियो ।Source: onlinekhbar.com