२२ माघ, काठमाडौं । सरकारले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि देशव्यापी एचपीभी खोप अभियान सञ्चालन गर्ने भएको छ । मंगलबारबाट (माघ २२) देखि फागुन ६ गतेसम्म चल्ने यो अभियानमा विद्यालयका कक्षा ६ देखि १० सम्मका र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका करिब १७ लाख किशोरीलाई खोप दिइने छ । स्वास्थ्य सेवा विभाग मातहतको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार नेपालमा पाठेघरको मुखको क्यान्सरविरुद्ध हालसम्मकै सबैभन्दा ठूलो अभियान हो ।
अभियान सफल कार्यान्वयनका लागि १८ हजार विद्यालय र ८ हजार स्वास्थ्य संस्थालाई खोप केन्द्रको रूपमा तोकिएको छ भने २७ हजार स्वास्थ्यकर्मी र ५४ हजार स्वयंसेवक परिचालन गरिनेछ । राष्ट्रिय खोप सल्लाहकार समितिका अध्यक्ष डा. रमेशकान्त अधिकारी यस वर्षदेखि नै एचपीभी खोपलाई राष्ट्रिय खोप तालिकामा समावेश गरेको बताए । ‘एचभीपी खोप विश्व स्वास्थ्य संगठनबाट प्रमाणित गुणस्तरयुक्त खोप हो र संसारका धेरै देशमा प्रयोग हुँदै अएको खोप हो’ डा. अधिकारीले भने, ‘नेपालमा प्रयोग गर्नको लागि नेपालको औषधि व्यवस्था विभागबाट अनुमति पाइसकेको छ । त्यसैले खोप निर्धक्क लगाउनुहोस् ।’
एचपीभी खोप लगाउन कहाँ जाने ?
एचपीभी खोप अभियानको रूपमा नेपालभर नै सञ्चालन हुँदैछ । यस अभियानमा एचपीभी खोप ६ देखि १० सम्म अध्ययन–अध्यापन हुने विद्यालयबाट प्रदान गरिंदैछ । त्यसैले अभियान सञ्चालनको समयमा आ–आफ्नो विद्यालयमा गएर कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने छात्राले एचपीभी खोप लगाउन पाउँछन् ।
साथै, विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीहरूले पनि यस अभियान सञ्चालनको समसयमा नजिकैको विद्यालयमा गएर एचपीभी खोप लगाउन सक्छन् । केही कारणवश छुटेका किशोरीले नजिकैको स्वास्थ्य संस्थाबाट पनि खोप लगाउन सक्छन् ।
चिकित्सकका अनुसार नेपालमा महिलाको मृत्यु हुने प्रमुख कारणमध्ये पाठेघरको क्यान्सर एक हो । पाठेघर मुखको क्यान्सर हुने मुख्य भूमिका ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) को कारण हुन्छ । नेपालमा प्रत्येक दिन करिब ६ जना महिलाको पाठेघर मुखको क्यान्सरको कारण मृत्यु हुन्छ ।
महिला र पुरुषहरू एचपीभी भाइरससँग सम्पर्कमा आउनुअघि नै खोप पाउन सके त्यसले सबभन्दा राम्रो परिणाम दिन्छ ।
एचपीभी भाइरस सरुवा भएकाले सजिलै फैलिन्छ । यो मुख्यतः छालाको सम्पर्कबाट सर्छ । चिकित्सकका अनुसार भाइरसको संक्रमणको प्रमुख कारण कलिलो उमेरमा विवाह गर्ने, कलिलो उमेरमै बच्चा जन्माउने, धेरै बच्चा पाउने, छोटो अन्तरालमा लगातार बच्चा पाउने र धेरै जनासँग यौन सम्बन्ध बनाउने, असुरिक्षत यौन सम्पर्क गर्ने, धेरै धूमपान तथा मद्यपान गर्ने र यौनाङ्गको सरसफाइमा ध्यान नदिनु रहेका छन् ।
चिकित्सकका अनुसार ३० देखि ४५ वर्षसम्म पुग्दासम्म ८० प्रतिशत एचभीपीको संक्रमण भइसकेको हुन्छ ।१० देखि १४ वर्ष भ्याक्सिन लगाउने उपयुक्त उमेर हो । सानो उमेरमा लगाएको खोप बढी प्रभावकारी हुन्छ ।
महिला र पुरुषहरू एचपीभी भाइरससँग सम्पर्कमा आउनुअघि नै खोप पाउन सके त्यसले सबभन्दा राम्रो परिणाम दिन्छ । किनभने खोपले संक्रमण हुनबाट बचाउँछ । तर, शरीरमा पहिला नै भाइरस बसिसकेको भए संक्रमणमुक्त भने बनाउन सक्दैन ।
एचपीभी विरुद्धको खोपले पाठेघर मुखको क्यान्सर, गुद्वारको क्यान्सर, घाँटी र जनेन्द्रियहरूको क्यान्सरबाट पनि बचाउँछ । चिकित्सकका अनुसार एचपीभी विरुद्ध खोप यौन सम्पर्क अगाडि लगाउन सके जीवनभर ९० प्रतिशत सुरक्षित राख्छ ।
एचपीभीबाट क्यान्सर भएकाहरूमा सुरुको अवस्थामा कुनै पनि लक्षण नदेखिन सक्ने भएका कारण खोप र नियमित स्क्रिनिङ गराउनु आवश्यक पर्ने चिकित्सक बताउँछन् ।
Source: onlinekhabar.com