banner image

एसईई परीक्षाको तयारी पूरा, दृष्टिविहीन विद्यार्थीले आफू अध्ययनरत विद्यालयबाटै परीक्षा दिन पाउने

Mar 22, 2023

एसईई परीक्षाको तयारी पूरा, दृष्टिविहीन विद्यार्थीले आफू अध्ययनरत विद्यालयबाटै परीक्षा दिन पाउने

एसईई परीक्षाको तयारी पूरा, दृष्टिविहीन विद्यार्थीले आफू अध्ययनरत विद्यालयबाटै परीक्षा दिन पाउने

८ चैत, काठमाडौं। परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले आगामी चैत १७ गतेदेखि हुने माध्यामिक शिक्षा परीक्षा (एसईई)को लागि तयारी पूरा भएको जनाएको छ ।

यसवर्षको एसईई परीक्षाका लागि २ हजार ३७ परीक्षा केन्द्र तोकिएको परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले जानकारी दिए ।

परीक्षा नियन्त्रक श्रेष्ठका अनुसार उपत्यकाका तीन जिल्ला बाहेक सबै परीक्षा केन्द्रमा उत्तरपुस्तिका र प्रश्‍नपत्र पुर्‍याइसकिएको छ । यो वर्ष ५ लाख १६ हजार ५९५ जना विद्यार्थीले परीक्षाको लागि रजिष्ट्रेशन भरेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

हरेक जिल्लाको जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला परीक्षा समन्वय समितिले आवश्यक शान्ति सुरक्षा परीक्षा सञ्चालन व्यवस्थापन अनुगमन गर्ने काम गर्नेछ ।

सातै प्रदेशका शिक्षा हेर्ने मन्त्रालय सचिवको अध्यक्षतामा पाँच सदस्यीय प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिले प्रदेश भित्रको परीक्षालाई स्वच्छ, मर्यादित, व्यवस्थित ढंगबाट समन्वय गर्ने काम गर्नेछ ।

सबै शिक्षा विकास निर्देशनालयले शिक्षा विकास तथा समन्वय इकाई र पालिकासँग समन्वय गरेर परीक्षाको मर्यादालाई कायम राख्न पहल गर्न अनुरोध गरिसकेको कार्यालयले जनाएको छ ।

गत वर्ष एसईई परीक्षाको लागि ५ लाख १४ हजार ९५५ ले रजिष्ट्रेशन भरेका थिए जसमध्‍ये ४ लाख ९५ हजार ७५१ जनाले परीक्षा दिएका थिए । यो वर्ष पनि रजिष्ट्रेसन फारम भर्ने संख्याभन्दा परीक्षामा सहभागी विद्यार्थीको संख्या कम हुने परीक्षा नियन्त्रक श्रेष्ठको भनाइ छ ।

दृष्टिविहीन विद्यार्थीले पढिरहेकै विद्यालयबाट परीक्षा दिन पाउने

दृष्टिबिहिन परीक्षार्थीले भने आफू अध्ययन गरिरहेको विद्यालयबाटै एुईई परीक्षा दिन पाउने भएका छन् । परीक्षा नियन्त्रण कार्यालय दृष्टिविहिन स्रोत कक्षा सञ्चालन भएका विद्यालयका विद्यार्थीहरुका लागि सोही विद्यालयबाट परीक्षा दिने व्यवस्था मिलाइदिएको हो ।

परीक्षा नियन्त्रक विष्णु नारायण श्रेष्ठका अनुसार दृष्टिविहीन परीक्षार्थीको लागि स्रोत कक्षा सञ्चालन भइरहेको विद्यालयमा नै उपकेन्द्र कायम गरेर परीक्षा सञ्चालन गरिनेछ । नियन्त्रक श्रेष्ठले भने, ‘दृष्टिबिहिन परीक्षार्थीले नयाँ विद्यालयमा गएर परीक्षा दिनुपर्ने बाध्यात्मक अवस्थालाई हटाएका छौं । यो उहाँहरुको लागि सहज वातावरण बनाउने प्रयास गरेका हौं।’

परीक्षा नियन्त्रण कार्यालयले यसबारेमा सबै जिल्लालाई परिपत्र गरेर आवश्यक ठाउँमा व्यवस्थापन गर्न अनुरोधसमेत गरेको जनाएको छ।