banner image

काठमाडौं महानगरले ४ हजारलाई साइबर सेक्युरिटी तालिम दिने

Jan 14, 2024

काठमाडौं महानगरले ४ हजारलाई साइबर सेक्युरिटी तालिम दिने

काठमाडौं महानगरले ४ हजारलाई साइबर सेक्युरिटी तालिम दिने

काठमाडौं महानगरपालिकाले ४ हजार व्यक्तिलाई साइबर सेक्युरिटी तालिम दिने भएको छ ।

‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ गौरव योजनाअन्तर्गत १५ हजार व्यक्तिलाई तालिम दिने र पाँच हजार व्यक्तिलाई रोजगारीमा आवद्ध गराउने लक्ष्य रहेको भन्दै २ माघबाट तालिम सुरु गर्ने महानगरले जनाएको छ ।

काठमाडौं महानगरले इसी काउन्सिल र ग्याप टेक्नोलोजिजसँगको सहकार्य गरेर तालिम दिने जनाएको छ ।

सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाका अनुसार यो सहकार्यबाट पाँच करोड रुपैयाँको छात्रवृत्ति प्रदान हुनेछ ।

उनका अनुसार साइवर सुरक्षा सिप रोजगारमूलक शिक्षा हो । यसले व्यक्तिलाई सम्भावित साइवर अपराधबाट बचाउँछ भने सिपबाट रोजगार क्षेत्रमा आवद्ध हुन सकिन्छ । ‘साइबर सुरक्षाका लागि काम गर्न इच्छुक विद्यार्थी र पेसाकर्मीहरुलाई तालिममा साइबर जोखिमबाट बचाउने ज्ञान र सिप प्रदान गरिनेछ ।’

महानगरले सहकार्य गरेको इसी काउन्सिल साइबर सुरक्षा प्रमाणपत्र र तालिममा विश्वव्यापी अग्रणी र प्रमाणित नैतिक हृयाकर क्रेडेन्सियलको आविष्कार रहेको जनाएको छ ।

महानगरले दाबी गरेको अनुसार नेपालमा ५९ प्रतिशतले साइबर अपराध बढेको प्रतिवेदनहरुले देखाएका छन् । यसप्रकारका अपराध नियन्त्रण गर्न बलियो र दक्ष साइबर सुरक्षाका लागि तालिमले योगदान दिनेछ ।

झाका अनुसार इन्टरनेटमा व्यक्तिको पहुँच बढे जत्तिकै साइबर सुरक्षाको चुनौती पनि बढेको छ । स्मार्ट फोन चलाउने सर्वसाधारणमा पनि इन्टरनेटमा आधारित सुरक्षा चाहिएको छ । तर, अहिलेसम्म व्यक्तिमा यो सचेतना आइसकेको छैन ।

झाले भने, ‘व्यक्तिका व्यक्तिगत सूचनाहरु थाहा नपाइ अरुले दुरुपयोग गरिरहेको हुन सक्छ । कहिलेकाही सरकारको प्रणालीमा पनि समस्या आउने गरेको सुनिन्छ । इन्टरनेटमा आधारित जोखिमबाट नागरिकलाई बचाउन अहिले काम गर्नु पर्नेछ । हामीले यसको थालनी गरेका हौं ।’

साइबर सेक्युरिटी तालिममा स्मार्ट फोन, इमेलहरुमा प्राप्त हुने म्यासेज तथा सूचना, इन्टरनेट जडान भएका उपकरण र यसमा प्रयोग हुने एप्लिकेसनहरुको आधिकारिकता, जोखिमका विषयमा सिकाइनेछ ।

प्रोग्रामिङ्ग, नेटवर्किङ् र डाटा भण्डारणका लागि क्लाउडका आधारभूत पक्ष सिकाइने झाले बताए । यस्ता प्रणालीलाई सुरक्षा गर्ने प्रणाली विकास, वेभ एप्लिकेसन डिभलपमेन्ट, सुशासन, जोखिम न्युनीकरणको अनुपालना, तथ्याङ्क विश्लेषण र व्यापार कला जस्ता प्रणाली सञ्चालन हुने प्लेटर्फम, यस्ता प्लेटर्फमहरुको उपयोग र दुरुपयोगजस्ता विषय तालिममा राखिएका छन् ।

३४ विधामा तालिम दिइने

महानगरले सञ्चालन गर्ने सीपमुलक कार्यक्रमका फोकल पर्सन शान्ता पहाडीका अनुसार अहिले सफ्टवेयर डिभलपमेन्ट, व्युटिसियन, डिजिटल मार्केटिङ्, र प्रफेसनल एकाउन्टिङ्का तालिम सुरु भइसकेका छन् । ‘हामीले विभिन्न ३४ विधामा तालिम दिंदैछौं । आवश्यकता र मागका आधारमा तालिमका अन्य विधा थप गर्नेछौं,’ उनले भनिन् ।

१५ हजार व्यक्तिलाई तालिम दिने लक्ष्य राखेको महानगरले साइबर सेक्युरिटी तालिमबाट मात्रै ४ हजार संख्या पुग्ने देखिन्छ ।

महानगरले दिने अन्य तालिम सञ्चालन गर्न ४० वटा तालिम कक्ष -प्रयोगशाला) तयार भइरहेका छन् ।

तालिम संयोजक देवेन्द्र के. सी. का अनुसार इलेक्टि्रसियन, कम्प्युटर, व्युटिसियन, कपाल काट्ने सैलुन (हेयर कट), फेसन डिजाइनिङ्, टेलरिङ्, कुलिनरी आर्ट, कम्प्युटर हार्डवेयर, सीसीटिभी जडान, भर्टिकल फार्मिङ् र गार्डेनिङ् लगायत तालिमका लागि कक्ष तयार भइरहेका हुन् ।

यसपछि इलेक्ट्रिसियन, उद्यमशील विकास, सहकारी व्यवस्थापन, फेसन डिजाइनिङ् र टेलरिङका तालिम सुरु हुँदैछन् ।