banner image

वास्तुअनुसार यस्तो हुनुपर्छ दम्पतीको शयन कक्ष

Sep 13, 2022

वास्तुअनुसार यस्तो हुनुपर्छ दम्पतीको शयन कक्ष

वास्तुअनुसार यस्तो हुनुपर्छ दम्पतीको शयन कक्ष

वास्तुअनुसार यस्तो हुनुपर्छ दम्पतीको शयन कक्ष

काठमाडौं । अहिले घर बनाउँदा वास्तु मिलाउने प्रचलन बढेको छ । मान्छेको व्यवहार, मनोभावलाई पनि सम्बोधन गर्ने भएकाले घर-भवन निर्माण गर्दा वास्तु हेराउने प्रवृत्ति व्यापक हुँदै गएको आर्किटेक डिजाइनर अर्चना शाह बताउँछिन् ।

वास्तुले समग्र घरसँगै त्यसभित्रका भान्सा, बैठक, शयन कक्ष कहाँ र कसरी तयार गर्नुपर्छ भनी निर्देशन गरेको छ ।

वास्तुले भूगोल, हावापानी, दिशा, समय आदिलाई आधार बनाएर कुनै पनि संरचनाको खाका तयार गर्न समूचित रुपरेखा कोरिदिने ज्योतिषी तथा कर्मकाण्ड प्रशिक्षक बलराम खकुरेलको तर्क छ ।

घर निर्माण गरिरहँदा दम्पतीको शयन कक्षलाई पनि निकै महत्व दिइन्छ । दाम्पत्य सुखका लागि शयन कक्षको वास्तु सही हुनुपर्ने ज्योतिषी खकुरेल बताउँछन् ।

कुन दिशा ?

ज्योतिषी खकुरेलका अनुसार वास्तुशास्त्र पाँच तत्वसँग सम्बन्धित छ । पञ्चतत्व भनेको पृथ्वी, जल, वायु, आकाश र तेज हुन् । यी सबैको प्रभाव अनुसार घर र कोठाको खाका तयार गर्नु नै वास्तु मिलाउनु हो ।

खकुरेल भन्छन्, ‘दम्पती सुत्ने कोठा घरको नैरित्य दिशामा हुनुपर्छ । अर्थात् दक्षिण-पश्चिमको मध्यभागमा हुनुपर्छ ।’ नैरित्य कोणमा पृथ्वीको गुण बढी हुन्छ । यो कक्षमा राम्ररी सूर्यको प्रकाश पर्छ । हावा पनि पर्याप्त आउजाउ गर्छ । यस किसिमको वातावरणले दम्पतीको तन र मन दुवैलाई स्वस्थ राख्न मद्दत गर्छ । साथै, उनीहरुमा उमंग पनि कायम रहन्छ ।

दम्पती सुत्ने पलङको सिरानी दक्षिणतर्फ हुनुपर्छ । खासमा दक्षिणबाट उत्तरतर्फ चुम्बकीय तरंग प्रवाहित भइहेको हुन्छ । जब हामी दक्षिणतर्फ टाउको राखेर सुत्छौं, तब यी ऊर्जा हाम्रो शरीरमा प्रवेश गर्छ । पृथ्वीमा प्रवाहित भइरहने चुम्बकीय शक्ति र हाम्रो शरीरमा विद्यमान फलाम तत्वबीच समुचित तालमेल मिलाउन पनि हाम्रो सुत्ने आसनले खास प्रभाव पार्छ ।

घरको पूर्वी दक्षिण दिशालाई इसानकोण भनिन्छ । दम्पतीको शयन कक्ष यस दिशातर्फ हुनुहुँदैन ।

यदि दम्पतीको शयन कक्षमा बाथरुम बनाउने भए दक्षिण-पश्चिम दिशा उपयुक्त हुने खकुरेल बताउँछन् ।

कस्तो रंग ?

दम्पती सुत्ने कोठामा रंगले पनि खास अर्थ राख्छ । रंगले मान्छेको मनोभावसँग सोझो सम्बन्ध राख्ने भएकाले कस्तो रंग लगाउने भन्ने कुरा जान्न जरुरी भएको ज्योतिषी खकुरेल बताउँछन् । उनका अनुसार दम्पतीको कोठामा मन्द किसिमको क्रिम रंग, सेता र गुलाबी रंगको समायोजन उचित हुन्छ । यी रंगले माया, आकर्षण र सकारात्मक सोच बढाउन सहयोग गर्ने उनको तर्क छ ।

गाढा रंग, जस्तो कि कालो, रातो, निलो रंग वा चम्किलो रंग दम्पतीको शयन कक्षमा उचित हुँदैन । यस्ता रंगले आवेग र क्रोध बढाउने ज्योतिषी खकुरेल बताउँछन् ।

कोठासँगै ओढ्ने, ओछ्याउने, झ्याल-ढोकाको पर्दा पनि हल्का गुलाबी रंगको राख्नु बढी उपयुक्त हुने उनको भनाइ छ ।

कस्तो सजावट ?

दम्पतीको शयन कक्षमा प्रेमिल भाव दर्शाउने चराको जोडीको फोटो राख्नु उपयुक्त हुन्छ । अर्थात् अरु किसिमको तस्वीर राखे पनि त्यसले प्रेमभाव पैदा गराउने खालको हुनुपर्छ ।

कोठामा हिंस्रक खालको, दुःखलाग्दो, युद्धको फोटो राख्नु हुँदैन । हुन त फोटो निर्जीव वस्तु हो । तर यसले हाम्रो अवचेतन मनलाई प्रभाव पारिरहेको हुन्छ । त्यसैले हाम्रो आँखाले देख्ने दृश्यले मन र भावनालाई असर गर्छ ।

शयन कक्ष सकेसम्म सफा र खुला हुनुपर्छ । धेरै सामग्री राखिएको शुभ मानिंदैन । यत्रतत्र सरसामन वा धेरै सजावटको सामग्री राख्नु पनि ठीक हुन्न । यसैगरी दम्पतीको शयन कक्षमा ऐना राख्नु हुँदैन ।

कस्तो बिरुवा ?

दम्पती सुत्ने कोठामा कोमल एवं नरम प्रजातिको बिरुवा राख्नु उचित हुने ज्योतिषी खकुरेल बताउँछन् । चिनियाँ वास्तुले पनि कडा रुख हुने बिरुवा उचित नहुने उल्लेख गरेको छ । मनिप्लान्ट जस्तो बिरुवा दम्पतीको सयनकक्षमा उचित हुने उनी बताउँछन् ।

वास्तुमा विश्वास बढ्यो

अर्चना शाह, आर्किटेक डिजाइनर 

पहिले घर-भवन निर्माण गर्दा, कोठाको डिजाइन गर्दा वास्तुबारे खासै चासो राख्दैनथे । यसलाई कतिपयले आडम्बर वा अन्धविश्वास भन्ने गर्थे । तर अहिले वास्तुप्रति मान्छेको बुझाइ फेरिएको छ । वास्तुलाई मान्छेले विज्ञानसम्मत ढंगले बुझेर सोही अनुसार घर-भवन निर्माण गर्न थालेका छन् ।

अहिले धेरैले घर बनाउँदा वास्तु के कस्तो छ भनी सोधीखोजी गर्छन् । घर बनाउँदा, कोठा डिजाइन गर्दा वास्तु मिलेको वा नमिलेको हेर्ने गर्छन् । हामीले पनि वास्तु अनुरुप नै कोठाको डिजाइन, रंग, फर्निचरको व्यवस्था गरिरहेका छौं ।

वास्तुले दम्पतीको शयन कक्षाको डिजाइन, रंग र दिशा पनि निर्धारण गरेको छ । यस्तो कोठाको डिजाइन गरिरहँदा प्रेम र आकर्षणको भाव पैदा हुने सरसामान अनि रंगको ख्याल गर्नुपर्छ ।   Onlinkhabar.com