banner image

हराएको फोन फेला पार्न तपाईँले जान्नैपर्ने टिप्स

Jan 05, 2024

हराएको फोन फेला पार्न तपाईँले जान्नैपर्ने टिप्स

हराएको फोन फेला पार्न तपाईँले जान्नैपर्ने टिप्स

हामीले प्रयोग गरिरहेकाे स्मार्टफाेन कहिलेकाहीं हराएको वा कतै छुटेको हुन सक्छ । कतिपय अवस्थामा फोन कसैले चोरी गरेको हुन्छ । त्यस्तोमा तत्कालै फोन फेला पार्न गुगलले १० वर्षअघि अर्थात् २०१३ मा ‘फाइन्ड माई डिभाइस’ (Find my device) एप र फिचर सार्वजनिक गरेको थियो । त्यसपछि परिमार्जन हुँदै आएको यो एपले आजका दिनमा हराएको डिभाइस अफलाइन भए पनि त्यसको लोकेसन पत्ता लगाउन सक्ने गुगलको दाबी छ । गुगलले प्रायः सबै प्रयोगकर्ताको लोकेसनको पछिल्लो डेटा इन्ड-टु-इन्ड इन्क्रिप्सनका रूपमा भण्डारण गरेको हुन्छ । त्यसैलाई आधार मानी अफलाइन हुँदा पनि डिभाइस कहाँ छ भन्ने थाहा दिने कम्पनीको भनाइ छ । गुगलको यो एपमार्फत हराएको डिभाइसको लोकेसन फेला पार्न सकिन्छ । यदि डिभाइस अनलाइन नै छ भने म्युट गर्न नसकिने रिङ बज्छ ।

एन्ड्रोइडका लागि उपलब्ध यो एपको सहायताले हराएको डिभाइसको सबै डेटा मेटाउन, लक गर्न, ठूला ठूला भवनहरूमा कतै छुटेको छ भने फेला पार्न सकिन्छ ।

यो एप प्रयोग गरी फोन फेला पार्न यसो गर्नुहोस्:

– सबैभन्दा पहिले यहाँ क्लिक गरेर ‘फाइन्ड माई डिभाइस’ एप इन्स्टल गर्नुहोस् ।

– अनि एप खोल्नुहोस् ।

– त्यसपछि ‘साइन एज गेस्ट’ (Sign as guest) बटनमा ट्याप गरी तपाईंले जुन डिभाइस पत्ता लगाउन खोज्नु भएको हो, त्यही डिभाइसको गुगल अकाउन्ट राखेर लगइन गर्नुहोस् ।

– यति गरेपछि उक्त गुगल अकाउन्ट जुन डिभाइसमा लगइन छ, त्यसैको नाम देखिन्छ । त्यसमा तपाईंले हराएको डिभाइसमा ट्याप गर्नुहोस् ।

– त्यसपछि म्याप्सनमा उक्त डिभाइस कहाँ छ भन्ने लोकेसन देखिन्छ । यदि डिभाइस अनलाइन छ भने वास्तविक ठाउँको डेटा दिन्छ । तर, डिभाइस अफलाइन छ भने पछिल्लो पटक अनलाइनमा हुँदा डिभाइस जुन लोकेसनमा थियो त्यही लोकेसन देखिन्छ ।

– यति गरेपछि डिभाइसको नाम पछाडि रहेको सेटिङको अप्सनमा ट्याप गर्नुहोस् । त्यसमा ट्याप गर्दा फ्याक्ट्री रिसेट गर्न सकिन्छ । यदि डिभाइस फ्याक्ट्री रिसेट गर्नु छ भने त्यही अप्सनमा ट्याप गर्नुहोस् । यो गरिसकेपछि तपाईंको हराएको डिभाइसको डेटा सबै गायब हुन्छ ।

त्यस्तै प्ले साउन्डको अप्सनमा ट्याप गर्दा हराएको डिभाइसमा साउन्ड बज्छ । सेक्युअर डिभाइसमा ट्याप गर्दा डिभाइस लक हुन्छ । यदि लक राखिएको छैन भने नयाँ लक पनि राख्न सकिन्छ ।

त्यस्तै डिभाइमा मेसेज वा आफ्नो सम्पर्क विवरण पनि राख्न सकिन्छ । यस्तो गर्दा लक स्क्रिनमै तपाईंको सम्पर्क नम्बर र तपाईंले छोड्नु भएको मेसेज देखिन्छ । अनि गेट डाइरेक्सनको अप्सनमा ट्याप गरे म्याप्समा तपाईंको डिभाइस कहाँ छ भन्ने लोकेसन देखिन्छ । त्यसबाहेक पनि हराएको डिभाइसमा चार्ज कति छ, कुन वाई-फाईमा कनेक्ट छ भन्ने जानकारी पनि देखिन्छ ।

हराइसकेको फोनमा भएको कुनै पनि डेटा फोन फेला पार्ने व्यक्तिले दुरुपयोग नगरोस् भन्ने चाहनुहुन्छ भने पनि यो टुल निकै उपयोगी हुन सक्छ । कतिपय अवस्थामा पिन वा प्याटर्न अन्दाजी राख्दा मिल्न सक्छ । तर, त्यही प्याटर्न वा पिन उक्त व्यक्तिलाई थाहा नहुन सक्छ । यस्तोमा तपाईंले यही एपको प्रयोग गरी लक गर्न सक्नुहुन्छ ।
Via TechPana